प्रधानमन्त्री दाहाल र कतारका राजाबीच आज द्विपक्षीय वार्ता हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूणर् निमन्त्रणामा नेपाल आइपुगेका अमिर नेतृत्वको प्रतिनिधिमण्डल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुनेछ । आज द्विपक्षीय वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । नेपाल भ्रमणमा रहेका अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गरेका थिए । यो वार्ता सकीएपछि कतारी अमिर आजै नेपालको दुईदिने औपचारिक भ्रमण सकाएर फर्कदैछन् ।