आज विश्व मिर्गौला दिवस – मिर्गौला स्वस्थ कसरी राख्ने ?

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका लगभग ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन । कतिपयलाई मानिसहरुलाई आफु मिर्गौलाको समस्याबाट ग्रसित भएको पनि जानकारी हुँदैन । मानिसको शरीरमा दायाँ र बायाँ गरी दुईवटा मिर्गौला हुन्छन्, तर एउटा मिर्गौला भए पनि स्वस्थ र आरामदायी जीवन बाँच्न सकिन्छ ।

मिर्गौलाको आकार लगभग चार-पाँच इन्चको हुन्छ, यो मानिसको मुट्ठीको आकारजस्तै हुने गर्दछ । मिर्गौलाले शरीरमा पानीको मात्रालाई सन्तुलित गर्ने काम गर्दछ । यसले रगतमा रहेको विकारलाई फिल्टर गरी पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने कार्य गर्दछ । आफ्नो जीवनकालमा प्रत्येक १० जना व्यक्तिमध्ये एकजनामा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ ।

के गर्ने ?
पानी प्रशस्त पिउने ।
दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने । सन्तुलित भोजन गर्ने ।

के नगर्ने?
धूम्रपान नगर्ने । मद्यपान नगर्ने । मूत्रप्रणालीमा कुनै किसिमको समस्यामा देखिएमा आफूखुसी औषधि सेवन नगर्ने, चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि लिने ।
ध्यान दिनुपर्ने कुराहरु

मिर्गौलाको पत्थरीबाट जोखिने प्रमुख उपाय नै प्रशस्त पानी पिउने र प्रशस्त पिसाब फेर्ने हो । एउटा वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा साढे दुईदेखि तीन लिटर पानी पिउनु राम्रो हुन्छ । वयस्क व्यक्तिले २४ घण्टामा दुईदेखि साढे दुई लिटर पिसाब फेर्नु राम्रो हुन्छ । त्यस्तै, आफ्नो पिसाबको रंगलाई पनि ध्यान दिनुपर्छ । सामान्य अवस्थामा हल्का पहेँलो (परालको रंगको) पिसाब आउँछ । तर, मिर्गौलामा समस्या देखिएमा पिसाबको रंग फरक हुन सक्छ । त्यस्तै, लामो समय पिसाब रोकेर बस्नुहुँदैन । यसले पिसाब थैली र मिर्गौलामा समस्या निम्त्याउन सक्छ र पिसाबको संक्रमण हुन सक्छ ।

धूम्रपान मिर्गौलाको लागि हानिकारक हो । यसले मिर्गौलामा रगतको सञ्चारलाई घटाउने तथ्य विभिन्न सर्वेक्षणले पुष्टि गरिसकेका छन । धूम्रपानले मूत्रप्रणालीको क्यान्सर गराउने जोखिम पनि रहन्छ ।

साधारणतया मिर्गौलालाई जोखिममा पार्न सक्ने स्वास्थ्य समस्याहरू क्रोनिक किड्नी डिजिज, मिर्गौलाको पत्थरी, मिर्गौलाको क्यान्सर र मिर्गौला फेल हुनु हो । उच्च रक्तचाप, डायबिटिज, मूत्रप्रणालीको पत्थरी तथा संक्रमण नै मिर्गौलालाई जोखिमपूणर् अवस्था ल्याउने प्रमुख कारण हुन । पिसाबमा रगत देखिएमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गरेर वेलैमा उपचार थाल्नुपर्छ ।