थाइराइड रोगसंगै आउन सक्ने ८ समस्या

थाइराइड एक ग्रन्थी हो । यो घाँटीमा रुद्रघण्टीको ठ्याक्कै तल हुन्छ, जसले थाइराइड हार्मोन उत्पादन गर्छ । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ ।
थाइराइडको लक्षण यसको प्रकारमा निर्भर हुन्छ ।
थकान
थाइराइड एउटा यस्तो अवस्था हो, जसको कारणले बिना कारण धेरै थकान महसुस हुन्छ । यदि थकित र कमजोर महसुस हुन्छ भने यस्तो अवस्थामा एक पटक रगत परीक्षण गराउनुपर्छ । परीक्षण गर्दा समस्या छ भने समयमा नै उपचार गरियो भने अवस्थामा सुधार हुन्छ ।
छाला सुक्खा हुनु
थाइराइडका बिरामीको छाला निकै सुक्खा हुन्छ । मुख्यतया अनुहारको छाला सुक्खा हुने फुस्रो देखिने हुन्छ । यस्ता लक्षण देखिएमा पनि तुरुन्त स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्छ । चिकित्सकको सल्लाहमा थाइराइड जाँच गराउनुपर्छ ।
कब्जियत
थाइराइडको समस्याका कारण कब्जियतको गम्भीर समस्या हुन्छ । यस्तो अवस्थामा पेट राम्रोसँग सफा हुँदैन । यदि बारम्बार कब्जियतको समस्या भएमा कम्तीमा एक पटक डाक्टरको सल्लाह लिनुपर्छ ।

चिसोप्रति अधिक संवेदनशीलता
हाइपोथाइराइडिज्मका बिरामीलाई धेरै चिसो महसुस हुन्छ । एकै समयमा कतिपय बिरामीमा आवश्यकता भन्दा बढी गर्मी महसुस हुनसक्छ । कसैलाई असाध्यै जाडो हुने र कसैलाई असाध्यै गर्मी हुने समस्या छ भने थाइराइड जाँच गराउनु राम्रो हुन्छ ।
मुड परिवर्तन र कमजोर स्मरण क्षमता
कहिलेकाहीं हाइपोथाइराइडिज्मको लक्षण कमजोर मुड परिवर्तन र स्मरण शक्तिको समस्या पनि हुनसक्छ । थाइराइडबाट पीडित व्यक्तिमा चिन्ता, डिप्रेसन, कुनै काममा रुचि नहुनु, स्मरण शक्ति कमजोर हुनु र एकाग्रता नहुनु जस्ता लक्षण देखिन्छन् ।
नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार हाम्रो मस्तिष्कलाई राम्ररी काम गर्न पर्याप्त मात्रामा थाइराइड हार्मोन चाहिने भएकाले यस्तो हुन्छ । धेरै अनुसन्धानले थाइराइड हार्मोनको कम उत्पादनले मस्तिष्कको कार्यलाई असर पार्न सक्छ भन्ने कुरा पत्ता लगाएको छ ।
तौल बढ्ने र अनुहार सुन्निने
थाइराइडको समस्याबाट पीडित बिरामीको तौल छिट्टै बढ्छ । हाइपोथाइराइडिज्मका बिरामीमा तौल बढ्नेसँगै अनुहार सुन्निने, फुस्रो हुने समस्या पनि सुरु हुन्छ । यस्ता लक्षण देखिएमा पनि तुरुन्तै विशेषज्ञको सहयोग लिनुपर्छ ।
अनियमित महिनावारी
थाइराइडको समस्यामा महिनावारी अनियमितता, नियमित रुपमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक वा थोरै रक्तस्राव हुने जस्ता समस्या पनि देखा पर्छन् ।

कपाल झर्ने
कपाल झर्नु थाइराइडसम्बन्धी समस्यामा देखिने पहिलो लक्षणमध्ये एक हो । हाइपो र हाइपर थाइराइडिज्म दुवै छ भने कपाल झर्न थाल्छ । धेरैजसो अवस्थामा जब थाइराइड निको भएपछि कपाल फेरि बढ्न थाल्छ । यदि कपाल बिना कारण झर्दैछ भने थाइराइड जाँच गराउनुपर्छ ।
थाइराइड हर्मोन सन्तुलित मात्रामा उत्पादन हुनु पर्छ । यदि यसको समस्या आएमा खानपान र व्याममा विशेष ध्यान दिनुपर्दछ ।