जनकपुरको एक होटलमा महिला र पुरुषको शव फेला

जनकपुरको एक होटलमा महिला र पुरुषको शव फेला परेको छ ।
जनकपुरको रामानन्दचोकस्थित होटल होलिडे एण्ड गेष्ट हाउसको एक कोठामा मंगलबार झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हो ।

महोत्तरीको पिपरा गाउँपालिका-४ का ३१ वर्षीय हितेन्द्र पासवान र माइती पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका-४ खट्टाकी २५ वर्षीया प्रियंका कापर झुण्डिएको अवस्थामा फेला परेका हुन ।

मंगलबार दिउँसो ११ बजे कोठाभित्रबाट महिलाकी साढे २ वर्षकी छोरी रोइरहेको आवाज सुनिए पश्चात झ्यालबाट हेर्दा उनीहरु झुण्डिएको देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होटलको २०५ नम्बरको ढोका तोडेर भित्र छिर्दा दुवै जना एउटै सारीमा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनीहरू बिहीबारकै दिन घरबाट निस्केका थिए । होटल संचालकका अनुसार हितेन्द्रसँगै प्रियंका आफ्नी छोरीसहित गत शुक्रबार राती नौ बजेतिर होटेलमा आएकी थिइन ।

प्रहरीका अनुसार उनीहरु चार दिनदेखि होटेलमा बसिरहेका थिए । जितेन्द्रका चार सन्तान र प्रियंकाकी एक सन्तान छन । प्रियंकाका श्रीमान रोजगारीका लागि विदेशमा छन । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।