उदयपुरमा आफ्नै हजुरआमाको हत्या आरोपमा युवक पक्राउ

उदयपुर | उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् । बिहीबार बिहान हजुरआमा र नातीबीच जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा रोहितले धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको छ ।

हजुरआमाको हत्यापछि उनि फरार रहेका थिए । प्ररार भएको दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।

रोहितले हजुरआमाको शरीरका विभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले रोहितलाई पक्राउ गरेको हो । घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको छ ।

हत्या आरोपित रोहितलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।