
काठमाडौं — दैनिक १० हजार पाइला हिँड्नुपर्छ भन्ने प्रचलित मान्यता वैज्ञानिक रूपमा अनिवार्य नभएको एक नयाँ अनुसन्धानले देखाएको छ। बरु दिनमा करिब ७ हजार पाइला हिँड्दा पनि स्वास्थ्यमा महत्वपूर्ण फाइदा पुग्ने निष्कर्ष निकालिएको छ।
स्वास्थ्यसम्बन्धी जर्नल ल्यान्सेट पब्लिक हेल्थ मा प्रकाशित अध्ययनअनुसार ७ हजार पाइला हिँड्दा क्यान्सर, डिमेन्सिया तथा गम्भीर मुटु रोगहरूको जोखिम घट्ने उल्लेख गरिएको छ। अनुसन्धानले मानिसहरूलाई आफ्नो दैनिक गतिविधि बढाउन र स्वास्थ्यप्रति सचेत हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
अनुसन्धान टोलीकी प्रमुख डा. मेलोडी डिङका अनुसार १० हजार पाइला हिँड्ने धारणा वैज्ञानिक आधारभन्दा बढी पुरानो विश्वासमा आधारित छ। उनका अनुसार यो अवधारणा सन् १९६० को दशकमा जापानमा भएको एक मार्केटिङ अभियानबाट सुरु भएको थियो, जुन पछि फिटनेस ट्र्याकर र एपहरूमार्फत व्यापक रूपमा प्रचलित बन्यो।
उक्त अध्ययनमा विश्वभरका १ लाख ६० हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य र दैनिक गतिविधिको विश्लेषण गरिएको थियो। नतिजाअनुसार दिनमा २ हजार पाइला मात्र हिँड्नेहरूको तुलनामा ७ हजार पाइला हिँड्नेहरूमा मुटु रोगको जोखिम २५ प्रतिशत, क्यान्सर ६ प्रतिशत, डिमेन्सिया ३८ प्रतिशत र डिप्रेसन २२ प्रतिशतले कम देखिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार ४ हजार पाइला हिँड्दा पनि स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन्छ। यद्यपि ७ हजार पाइला पछि धेरैजसो फाइदाहरू स्थिर हुने भए पनि अझ बढी हिँड्दा मुटु स्वास्थ्यमा थप लाभ पुग्न सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने वयस्कहरूले हप्तामा कम्तीमा १५० मिनेट मध्यम वा ७५ मिनेट कडा शारीरिक गतिविधि गर्नुपर्ने सिफारिस गरेको छ। विशेषज्ञहरूका अनुसार सबैका लागि एउटै लक्ष्य उपयुक्त नहुने भएकाले व्यक्तिगत क्षमता अनुसार सक्रिय रहनु महत्वपूर्ण हुन्छ।
ब्रुनेल विश्वविद्यालय, लन्डनका डा. डेनियल बेली र पोर्ट्समाउथ विश्वविद्यालयका डा. एन्ड्रयू स्कटका अनुसार १० हजार पाइला अनिवार्य लक्ष्य नभई ५ हजारदेखि ७ हजार पाइला अधिकांशका लागि व्यवहारिक र लाभदायक लक्ष्य हुन सक्छ।
विशेषज्ञहरूले दैनिक जीवनमा निरन्तर सक्रिय रहनु नै स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण रहेकोमा जोड दिएका छन्।



