
दिलिप कडेंल, सुर्खेत। चौकुने गाउँपालिका–९ रागस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा डेङ्गु रोगको रोकथाम तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आधारभुत स्वास्थ्य शाखा प्रमुख देबेन्द्र बिष्टले डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले यसको रोकथामका लागि प्रत्येक नागरिक सचेत हुनुपर्ने बताउनुभयो। उहाँले घर, आँगन तथा वरिपरि पानी जम्न नदिने, पानी संकलन हुने भाँडाकुँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने तथा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रममा मानसिक स्वास्थ्यको महत्वबारे पनि जानकारी दिँदै मानसिक तनाव, चिन्ता वा अन्य मानसिक समस्या देखिएमा लुकाएर नराखी समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आवश्यक परामर्श तथा उपचार लिन सबैलाई अनुरोध गरिएको थियो।चौकुने गाउँपालिकाको स्वास्थ्य शाखाले डेङ्गु नियन्त्रण र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।



