
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले गुणस्तरहीन तथा स्वास्थ्यका लागि हानिकारक देखिएका केही खाद्य उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि द्वारा उत्पादित ‘ज्याक न्याक क्रायकर’ ब्रान्डका बिस्कुट अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएपछि बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको हो।
बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त बिस्कुटमा सरकारले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा नभएको विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) बमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका उत्पादन तत्काल बजारबाट फिर्ता लिन तथा अर्को सूचना जारी नभएसम्म बिक्री वितरण नगर्न निर्देशन दिइएको विभागले उल्लेख गरेको छ।
यसैगरी, यशोधा फुड्स प्रालि द्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ पनि गुणस्तरहीन रहेको ठहर गर्दै विभागले ती उत्पादनसमेत तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।
विभागले उपभोक्तालाई यस्ता उत्पादन खरिद तथा उपभोग गर्दा सतर्क रहन आग्रह गरेको छ।



