
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जङ्गली च्याउ खाँदा एक महिला बिरामी परेकी छन्।
वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमलकी ४० वर्षीया कोशिला पौडेल जङ्गली च्याउ सेवन गरेपछि बिरामी परेकी हुन्।
प्रहरीका अनुसार साेमबार अपराह्न करिब १:३० बजे घरमै पकाएको जङ्गली च्याउ खाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। अवस्था बिग्रिएपछि साँझ करिब ५ बजे उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ लगिएको थियो।
अस्पतालमा उपचाररत पौडेलको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अस्पतालमा खटिएका प्रहरी हवल्दार दिनेश पौडेलका अनुसार उनको उपचार भइरहेको छ भने उपचार प्रक्रियामा उनका छोरा राजन पौडेल संलग्न रहेका छन्।
प्रहरी तथा स्वास्थ्यकर्मीले जङ्गलमा उम्रिएका अपरिचित च्याउ विषालु हुन सक्ने भएकाले पहिचान नभएका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।



