
काठमाडौं, साउन ८ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा बाल संरक्षण भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन गाविस सचिवसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा बाल संरक्षण भत्ताका लागि निकासा भएको ३ लाख ७ हजार २०० रुपैयाँ नक्कली भरपाई तयार गरी हिनामिना गरिएको अनुसन्धानबाट पुष्टि भएको छ। लाभग्राहीको नाममा आफैं तथा अन्य व्यक्तिबाट औँठाछाप गराई रकम दुरुपयोग गरिएको र प्रयोगशाला परीक्षणबाट समेत नक्कली सहीछाप भएको प्रमाणित भएको आयोगले जनाएको छ।
यस प्रकरणमा तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समिति महोत्तरीका सहायक लेखापाल सुरुज साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको छ। आयोगले उनीहरूबाट ३ लाख ७ हजार २०० रुपैयाँ बिगो असुल, सोही बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको माग गरेको छ।



