
दिलिप कडेंल, सुर्खेत। विश्व स्तनपान सप्ताह २०८३ को अवसरमा चौकुने गाउँपालिका स्वास्थ्य शाखाले प्रभावकारी स्तनपान प्रवर्द्धनका लागि सबै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।
"दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ" भन्ने मूल नारासहित साउन १६ देखि २२ (१–७ अगस्ट) सम्म विश्व स्तनपान सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ।
स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेयका अनुसार नवजात शिशुलाई जन्मेको एक घण्टाभित्र आमाको दूध चुसाउन सुरु गर्नुपर्ने, पहिलो ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने तथा त्यसपछि दुई वर्ष वा सोभन्दा बढी समयसम्म पोषिलो थप आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने सन्देश समुदायसम्म पुर्याइनेछ। प्रमुख पाण्डेयले प्रभावकारी स्तनपानले शिशुको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै संक्रमणबाट जोगाउने, कुपोषण घटाउने र आमाको स्वास्थ्य संरक्षणमा समेत टेवा पुग्ने भएकाले परिवार, समुदाय तथा सबै सरोकारवालाले स्तनपानमैत्री वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। विश्व स्तनपान सप्ताहको अवसरमा चौकुने गाउँपालिका स्वास्थ्य शाखाले सम्पूर्ण आमा, परिवार तथा समुदायलाई स्तनपानसम्बन्धी सही अभ्यास अपनाई स्वस्थ र समृद्ध समाज निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।



