
कर्णाली। कर्णाली प्रदेश रङ्गशालामा पहिलोपटक नेपाली फुटबलका पुराना हस्तीहरू एकसाथ मैदानमा उत्रिने भएका छन्। आगामी शनिबार 'नेपाल लेजेन्ड्स' र 'कर्णाली लेजेन्ड्स'बीच हुन लागेको रोमाञ्चक मैत्रीपूर्ण फुटबल प्रतियोगिताले खेलप्रेमीमा उत्साह थपेको छ। ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने यो खेलमा एन्फाका पूर्वअध्यक्ष गणेश थापासहित उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा र हरि खड्का जस्ता दिग्गज खेलाडीहरूको सहभागिता रहने एकेडेमीका अध्यक्ष शशी केसीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
स्थानीय खेलाडीहरूको मनोबल बढाउन र प्रदेशमा खेल संस्कृतिको विकास गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। प्रतियोगितामा कर्णालीको प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी र ललित बसेललगायतले प्रतिस्पर्धा गर्नेछन्। कर्णालीको खेल इतिहासमै पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीहरूले एउटै मैदानमा पसिना बगाउने भएकाले यो खेललाई विशेष चासोका साथ हेरिएको छ।



