
काठमाडौं, जेठ २४ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालले ओमानको सामना गरिरहेको छ। सिंगापुरस्थित नेसनल क्रिकेट मैदानमा जारी खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो।
समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा भइरहेको छ।
नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेलमा प्रभावशाली जित दर्ता गरेको थियो। पहिलो खेलमा चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियामाथि १६७ रनको शानदार जित निकालेको थियो।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल ओमानलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा रहेको छ।



