
चितवन, साउन ३ – जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिनिधिसभा सदस्य खुश्बु ओलीमाथि सामाजिक सञ्जालमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने प्रकृतिका सामग्री पोस्ट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई हाल नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरे रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले फेसबुकमार्फत सांसद ओलीको चरित्रहत्या हुने किसिमका सामग्री प्रकाशित गरेको आरोप लागेको छ। पक्राउ परेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।
सांसद ओलीले दिएको उजुरीका आधारमा साइबर अपराध ब्युरो, काठमाडौं ले घटनाको अनुसन्धान गर्दै संलग्न व्यक्तिको पहिचान गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको थियो।
प्रहरीले दुवै जनालाई पक्राउ गरी विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ। अनुसन्धानपछि कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।



