
दिलिप कडेंल, सुर्खेत। चौकुने गाउँपालिका–८ विशालबजारस्थित पौडेल फेन्सी पसलका सञ्चालक डिल्लीराम पौडेल र दुर्गा कुमारी घिमिरे (पौडेल) ले श्री सिद्धेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ तथा अभिभावकविहीन बालबालिकालाई वडा न ७ का वडा अध्यक्ष धनिराम धमाला र सिद्धेश्र्वरी वाल गृहका व्यवस्थापक देवानन्द धमालाको रोहवरमा कपडा वितरण गर्नु भएको छ । विद्यालयको प्राङ्गणमा गई उहाँहरूले विद्यार्थीहरूलाई आवश्यक कपडा हस्तान्तरण गर्दै आर्थिक अवस्था कमजोर तथा अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले यो सहयोग गरिएको बताउनु भएको छ एउटा सानो सहयोगले पनि बालबालिकामा आत्मविश्वास बढ्ने र पढाइप्रति थप उत्साह मिल्ने विश्वास व्यक्त गर्नु भयो ।
विद्यालय प्रशासनले पौडेल दम्पतीको सामाजिक सेवामूलक कार्यको प्रशंसा गर्दै समुदायका अन्य व्यक्ति तथा व्यवसायीलाई पनि यस्ता मानवीय कार्यमा जोडिन आग्रह गरेको छ। विद्यालयका अनुसार यस्ता सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउन र उनीहरूको शैक्षिक यात्रालाई सहज बनाउन महत्वपूर्ण योगदान पुग्ने गर्दछ। कपडा प्राप्त गरेका विद्यार्थीहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै आफूहरूलाई सम्झेर सहयोग गरेकोमा पौडेल दम्पतीप्रति आभार व्यक्त गरेका छन्। विद्यालयमा अध्ययनरत अनाथ तथा असहाय विद्यार्थीका लागि प्राप्त भएको यो सहयोगले उनीहरूको दैनिक आवश्यकतामा समेत राहत पुगेको विद्यालयले जनाएको छ।
सामाजिक सेवामा सक्रिय पौडेल दम्पतीले आगामी दिनमा पनि शिक्षा, बालबालिका तथा विपन्न समुदायको हितमा यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्थानीय स्तरमा व्यवसाय सञ्चालन गर्दै आएका उहाँहरूले व्यापारसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने दायित्व सबैको भएको उल्लेख गर्नु भयो । समाजमा रहेका आर्थिक रूपमा सक्षम व्यक्ति तथा व्यवसायीहरूले यस्ता सामाजिक अभियानमा सहभागी हुँदा विपन्न र असहाय वर्गका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ। यस सहयोगलाई समुदायमा सामाजिक सद्भाव, मानवीय भावना र सहयोगको संस्कृतिलाई थप मजबुत बनाउने प्रेरणादायी उदाहरणका रूपमा समेत हेरिएको छ।



