
धनुषा । धनुषामा स्वास्थ्यमन्त्री निशा मेहताको कार्यशैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका एक चिकित्सक पक्राउ परेपछि तरंग फैलिएको छ। स्वास्थ्यकर्मी नवेश अधिकारीले सामाजिक सञ्जालमा मन्त्री मेहताको तस्बिर प्रयोग गर्दै गरिब बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क बेडको व्यवस्था कार्यान्वयन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका थिए। 'माफिया मन्त्री' भन्दै राजीनामा माग गरेपछि अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाप्रति स्थानीय स्वास्थ्यकर्मीहरूले तीव्र आक्रोश व्यक्त गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र राज्यको दुरुपयोगको संज्ञा दिएका छन्। यद्यपि, धनुषा प्रहरीले भने साइबर अपराधसँग सम्बन्धित उजुरी परेकाले सोधपुछका लागि मात्र चिकित्सकलाई बोलाइएको र चाँडै रिहा गरिने बताएको छ। नागरिकका आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने दायित्वबाट पन्छिएर मन्त्रीले आफ्नो आलोचना गर्नेलाई प्रशासनको माध्यमबाट थुन्ने प्रयास गरेको भन्दै यतिबेला चौतर्फी आलोचना भइरहेको छ।



