
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशको विकास निर्माणको अवस्था बुझ्न स्थलगत अनुगमन थालेका छन्। कर्णाली करिडोरको निरीक्षण गर्दै मन्त्री लम्साल शनिबार पैदल मार्ग हुँदै कालीकोट पुगेका हुन्। यस भ्रमणका क्रममा उनले सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला र हुम्ला क्षेत्रका सडक पूर्वाधारको अवस्था, चुनौती र स्थानीयको जनअपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका छन्।
सांसद रमेश सापकोटाका अनुसार मन्त्री लम्सालले कर्णाली राजमार्ग र करिडोरको वर्तमान स्थितिबारे गम्भीर छलफल गर्दै प्रदेशको समग्र पूर्वाधार विकासलाई तीव्रता दिने विषयमा चासो देखाएका छन्। लामो समयदेखि कर्णालीको विकासमा सडक सञ्जालको सहज पहुँच मुख्य चुनौतीका रूपमा रहँदै आएकोमा मन्त्रीको यो प्रत्यक्ष स्थलगत अनुगमनलाई स्थानीयले विशेष चासोका साथ हेरेका छन्।



