
भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस मादुरो गुएराले आफ्ना बुबा–आमाको भेनेजुएला फिर्ती सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धताको आह्वान गरेका छन्।
अमेरिकाले राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घटनालाई उनले ‘अपहरण’को संज्ञा दिएका छन्। सोमबार भेनेजुएलाको राष्ट्रिय सभामा सम्बोधन गर्दै मादुरो गुएराले दुई दिनअघि क्याराकासमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमार्फत मादुरो दम्पतीलाई पक्राउ गर्नु भेनेजुएलाको सार्वभौमिकतामाथि गम्भीर आक्रमण भएको बताएका छन्।
उनले यस्तो अभ्यासलाई सामान्य रूपमा स्वीकार गरिए कुनै पनि देश सुरक्षित नरहने चेतावनी दिए। “यदि राष्ट्रप्रमुखको अपहरणलाई सामान्य मान्न थालियो भने कुनै पनि देश सुरक्षित रहँदैन। आज भेनेजुएला, भोलि आदेश नमान्ने जुनसुकै देश हुन सक्छ,” उनले भने।
मादुरो गुएराले अन्तर्राष्ट्रिय समुदायलाई मौन नबस्न आग्रह गर्दै यस विषयलाई राजनीतिक विकल्पको बहसभन्दा माथि उठेर हेर्नुपर्ने बताए। उनका अनुसार यो विषय नैतिक र कानुनी दायित्वसँग जोडिएको छ।
उनले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागूऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गरेका छन्।



