
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा पेसी तोकिएको भए पनि सरकारी वकिलको कार्यालयका तर्फबाट सुनुवाइ प्रक्रिया स्थगित गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २०८२ जेठ १९ गते सोडारीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारको दाबीअनुसार पूर्वमुख्यमन्त्री सोडारीले सार्वजनिक पदमा बहाल रहँदा कानुनविपरीत १ करोड ८ लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका छन्। अनुसन्धानका क्रममा उनको वैध आम्दानी करिब ८५ लाख ५१ हजार रुपैयाँ मात्र देखिएकोमा उनले जग्गा खरिद, घर निर्माण र छोराछोरीको शिक्षा तथा विवाहसहित झण्डै १ करोड ९४ लाख रुपैयाँ खर्च गरेको पाइएको छ। आयोगले स्रोत नखुलेको उक्त ठुलो रकम बिगोका रूपमा कायम गर्दै उनकी श्रीमती गीता सोडारी र छोरा बबि सोडारीको नाममा रहेको घरजग्गा तथा बैंक मौज्दातसमेत जफत गर्न माग गरेको छ।



