
सुर्खेत, साउन ७ ।
कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको नेकपा संसदीय दलको बैठकले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको हो। नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले उक्त निर्णयको जानकारी दिएका छन्।
कांग्रेस र नेकपाले संयुक्त रूपमा गत बिहीबार दर्ता गरेको अविश्वास प्रस्तावमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको छ।
केन्द्रमा एमाले–नेकपाबीच नयाँ राजनीतिक समीकरणको चर्चा भइरहेका बेला कर्णालीमा भने नेकपाले आफ्नो अडान कायम राख्दै एमाले नेतृत्वको सरकारविरुद्ध मतदान गर्ने निर्णय गरेको हो। यसअघि नेपाली कांग्रेस संसदीय दलले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेस र नेकपाका १४–१४ सांसद, एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद छन्। बिहीबार बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।



