
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै उनले प्रदेशमा लगानीका प्रशस्त सम्भावना भए पनि निजी क्षेत्रको अपेक्षित संलग्नता हुन नसकेको उल्लेख गरे।
कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका हिसाबले धनी प्रदेश भएको बताउँदै उनले यी क्षेत्रमै लगानी बढाएर आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे। साथै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई जोखिम लिन आग्रह गरे।
मुख्यमन्त्री कँडेलले लगानीमैत्री वातावरण निर्माण, नीतिगत सुधार र पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले सरकारी अनुदानको दुरुपयोग रोक्न र दीर्घकालीन सोचसहित परियोजना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।
विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।



