
सुर्खेत । ‘Gen Z दिवस’ तथा Gen Z विद्रोहको अवसरमा सुर्खेतको घण्टाघर परिसरमा श्रद्धाञ्जली तथा विचार-विमर्श कार्यक्रम आयोजना हुने भएको छ।
‘द काउन्सिल अफ Gen Z’ कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा भदौ २३ गते हुने कार्यक्रममा विद्रोहका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिनेछ। साथै घाइते तथा प्रभावित युवाप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गरिने आयोजकले जनाएको छ।
दीप प्रज्वलनपछि ‘Gen Z विद्रोह : के पायौँ, के गुमायौँ?’ विषयमा खुला विचार-विमर्श गरिनेछ। छलफलमा राजनीतिक दलका प्रतिनिधि, युवा अभियन्ता, सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरू सहभागी हुनेछन्।
विद्रोहका सवाल, उपलब्धि, गुमाएका जीवन, घाइतेको अवस्था, युवाका अपेक्षा र वर्तमान राजनीतिक परिस्थितिबारे निष्पक्ष तथा तथ्यपरक समीक्षा गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
आयोजकले कार्यक्रममा युवा, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालालाई उपस्थित हुन आह्वान गरेको छ।



