
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले नेपालसहित ३० देशमा कार्यरत आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ।
मिडिया रिपोर्टहरूका अनुसार अमेरिकी विदेश मन्त्रालयले ती देशहरूमा कार्यरत राजदूतहरूलाई आगामी महिनासम्म स्वदेश फर्कन निर्देशन दिएको हो। राजदूत फिर्ता बोलाइनुको स्पष्ट कारण भने सार्वजनिक गरिएको छैन।
फिर्ता बोलाइएका राजदूतमध्ये अफ्रिकाका एक दर्जनभन्दा बढी देशका राजदूतहरू रहेका छन् भने एशियाबाट नेपालसहित ६ देशका राजदूतहरू समावेश छन्। त्यसैगरी चार युरोपेली देशका राजदूतहरूलाई पनि फिर्ता बोलाइएको बताइएको छ।
राजदूत फिर्ता बोलाइएका देशहरूको सूचीमा नेपाल, अल्जेरिया, अर्मेनिया, बुरुण्डी, क्यामरुन, केप भार्डे, इजिप्ट, फिजी, गाबोन, ग्वाटेमाला, आइभरी कोष्ट, लाओस, म्यासेडोनिया, माडागास्कर, द मार्शल आइल्याण्ड्स, मरिसस, मोन्टेनेग्रो, नाइजेरिया, नाइजर, पपुवा न्यू गिनी, फिलिपिन्स, रुवाण्डा, सेनेगल, स्लोभाकिया, सोमालिया, श्रीलंका, सुरिनेम र भियतनामलगायत देशहरू रहेका छन्।
राजदूतहरूलाई एकैपटक फिर्ता बोलाइनुलाई ट्रम्प प्रशासनको कूटनीतिक पुनर्संरचना वा नीतिगत पुनरावलोकनसँग जोडेर हेरिएको भए पनि अमेरिकी विदेश मन्त्रालयले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। यो निर्णयले सम्बन्धित देशहरूसँगको कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा चासो बढेको छ।



