
सुर्खेत । “फोहोर होइन, ज्ञान बाँडौँ” भन्ने नाराका साथ प्लास्टिकजन्य फोहोर व्यवस्थापनप्रति सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको प्लास्टिक कैद प्रतियोगिता बिहीबार वीरेन्द्रनगर नगरपालिका–स्थित पर्यटकीय स्थल घण्टाघर पार्कमा सम्पन्न भएको छ। प्रतियोगिता वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा दिगोसोच नेपाल संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाको योजना तथा वातावरण शाखा प्रमुख श्री प्रकाश पौडेल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता दिगोसोच नेपाल संस्थाका अध्यक्ष श्री पुष्कर थापाले गर्नुभएको थियो। प्रतियोगितामा नगरभित्रका पाँचवटा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक–एक समूह सहभागी भई आधा लिटर मिनरल वाटरको बोतलमा छरिएका प्लास्टिकजन्य फोहोरलाई लठ्ठीको सहयोगमा बोतलभित्र कैद गर्नुपर्ने व्यवस्था गरिएको थियो। प्रतियोगिताको नतिजाअनुसार नेरा माध्यमिक विद्यालय प्रथम, उषा बालबाटिका दोस्रो र भैरव माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगिताको मूल्याङ्कन सामाजिक अभियन्ता किरण किशोर सापकोटा, दिगोसोच नेपाल संस्थाकी कोषाध्यक्ष श्री सम्झना परियार तथा वातावरण तथा विपद् उपशाखा प्रमुख श्री एमलाल गिरी सम्मिलित निर्णायक मण्डलले गर्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले जथाभावी फोहोर फाल्दा वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने उल्लेख गर्दै छरिएका फोहोरलाई एकीकृत गरी सिर्जनात्मक सीप र प्रविधिमार्फत उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो। प्रतियोगिताले विद्यार्थीहरू मात्र नभई समाजका सबै उमेर, वर्ग र समुदायलाई प्लास्टिकजन्य फोहोर नजलाएर सुरक्षित रूपमा व्यवस्थापन गर्न प्रेरणा दिएको उहाँहरूको धारणा थियो।
कार्यक्रमको अन्त्यमा प्रतियोगितामा प्रयोग गरिएका प्लास्टिक बोतलभित्र कैद गरिएका प्लास्टिक फोहोरबाट दिगोसोच नेपाल संस्थाका एक सदस्यले मुढा निर्माण गरी बजारमा उपलब्ध प्लास्टिक मुढासँग तुलना गर्दै पुनःप्रयोग र पुनःचक्रणबाट आर्थिक तथा वातावरणीय लाभ लिन सकिने व्यावहारिक उदाहरण प्रस्तुत गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै दिगोसोच नेपाल संस्थाका अध्यक्ष श्री पुष्कर थापाले प्रतियोगिता नमुनाका रूपमा आयोजना गरिएको भए पनि हरेक नागरिकले फोहोरप्रति घृणा नगरी त्यसको व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले प्रतियोगिताको उद्देश्य सफलतापूर्वक पूरा भएको उल्लेख गर्दै आगामी दिनमा प्लास्टिकजन्य फोहोरलाई नजलाएर वैज्ञानिक र दिगो तरिकाले व्यवस्थापन गर्ने कार्यमा वीरेन्द्रनगर नगरपालिका प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मिति २०८२/१०/१८ गते आइतबार नगरप्रमुखज्यूको हातबाट प्रमाणपत्र तथा उपहार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।



