
दैलेख, साउन ६ — दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा सर्पदंशको आशङ्कामा एकै परिवारका आमा–छोराको मृत्यु भएको छ।
मृत्यु हुनेमा २७ वर्षीया कमला रावल र उनका ९ वर्षीय छोरा आयुश रावल रहेका छन्।
प्रहरीका अनुसार साउन ३ गते राति आमा–छोरा घरको माथिल्लो तलाको कोठामा भुइँमा ओछ्यान लगाएर सुतेका थिए। भोलिपल्ट बिहान उठ्दा दुवै जनामा टाउको रिङ्गिने तथा शरीर झम्झमाउने जस्ता समस्या देखिएपछि उपचारका लागि लगिएको थियो।
उपचारका क्रममा ९ वर्षीय आयुश रावलको स्थानीय शाही मेडिकल साङ्गेतारा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। गम्भीर अवस्थामा रहेकी कमला रावललाई जिल्ला अस्पताल दैलेखमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत रिफर गरिएको थियो। भेन्टिलेटरमा उपचार भइरहेकै अवस्थामा साउन ६ गते बिहान ६:२५ बजे उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी जम्बुकाध र पालतडाबाट प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज पौडेलको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको छ। प्रहरीले दुवैमा सर्पदंश भएको आशङ्का गर्दै घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।



