
सुर्खेत, साउन ७ ।
कर्णाली कारागारमा कैदीबन्दीलाई अध्ययनतर्फ आकर्षित गर्ने उद्देश्यले सञ्चालित पुस्तक अभियानका लागि पत्रकार तथा लेखक विराट अनुपमले आठ दर्जन पुस्तक सहयोग गरेका छन्।
अनुपमले साहित्य, कथा, कविता, जेलजीवन, राजनीतिक विचार, व्यावसायिक सीप, उत्प्रेरणा तथा सकारात्मक सोचसम्बन्धी पुस्तक उपलब्ध गराएका हुन्।
अभियानका संयोजक तथा प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी जयराज सापकोटाले पुस्तकले कैदीबन्दीलाई सकारात्मक सोच विकास गर्न, आत्मपरिवर्तन गर्न र कारागारबाट निस्किएपछि पुनः अपराधतर्फ नफर्किन प्रेरणा दिने बताए।
अभियानका उपसंयोजक तथा पत्रकार ज्योति कटुवालका अनुसार २०७५ चैत २३ देखि सञ्चालनमा रहेको पुस्तक अभियानमार्फत कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा हालसम्म ४० हजारभन्दा बढी पुस्तक हस्तान्तरण गरिएको छ।
कारागार कार्यालयका जेलर लक्ष्मी खरेलले पुस्तक अभियान सुरु भएयता कैदीबन्दीको व्यवहारमा सकारात्मक परिवर्तन आएको र कारागारभित्र हुने दैनिक झैझगडा समेत घटेको बताइन्।



