दुई वर्षभित्र सबैको घरमा विद्युत जडान हुन्छ ः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

उनले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन् । उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन् । मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन् । विद्युत खपत बढाउन सरकारले अभियाननै सञ्चालन गरिरहेको उनको भनाई थियो ।

मन्त्री भुसालले भनिन्, ‘९५ प्रतिशत जनताको घरमा विद्युत जडान छ । ५ प्रतिशत घरमा हामीले २ वर्षमा जोडने कुरा गरेका छौं । त्यसैले अब विद्युत जनताको एक ढंगले मौलिक अधिकार हो । उज्यालो भविष्यका निम्ति सबैखाले ऊर्जामा जलविद्युत प्रयोग गरौं भन्ने हाम्रो अभियान हो । र, हामी यही अभियानलाई यथार्थमा बदल्ने र जनताले सजिलो भाषामा विद्युतको उपभोग, यसको महत्व अनि यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अहिलेको व्यापार घाटालाई सन्तुलित गर्न सक्ने एउटा राम्रो सन्देश यसले दिएको छ । सबैमा विद्युत खपत गरौं भन्ने यसको सन्देश हो ।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरे । उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं । भैले भनिराखेको छु- ५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं । त्यो आन्तरिक खपत बढाएर हो । आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं ।’ प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए