
सुर्खेत। चाैकुने गाउँपालिकामा उपभोक्ताको स्वास्थ्यलाई जोखिममा पार्ने अखाद्य तथा म्याद गुज्रेका खाद्य सामग्रीविरुद्ध कडा बजार अनुगमन गरिएको छ। गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा संयुक्त अनुगमन टोलीले व्यापक निरीक्षण गर्दै गुणस्तरहीन सामग्री जफत गरी नष्ट गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी डिल बहादुर कार्कीको संयोजकत्वमा गरिएको अनुगमन चाैकुने गाउँपालिका वडा नं. ४ स्थित जगन्नाथ बजार (बिजौरा) तथा वडा नं. ८ को मिलनचोक–विशाल बजार (गुटु) क्षेत्रमा केन्द्रित थियो। अनुगमन कार्यमा चाैकुने गाउँपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गरेको थियो।
अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका कार्यालय प्रमुख सन्तोष दाहाल, चाैकुने गाउँपालिका गुटुका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाही, खाद्य अनुसन्धान अधिकृत कपिल सुवेदी, नायब सुब्बा छविराज कडेल, प्रा.स. सन्तोष घिमिरे, उद्यम विकास सहजकर्ता वर्षा घर्ती, इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायब निरीक्षक बुद्ध सागर चौधरी तथा प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतलगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा म्याद गुज्रेका चाउचाउ, बिस्कुट, कोल्ड ड्रिङ्क्स, चिउरा, दालमोठ, चकलेट लगायतका खाद्य सामग्री फेला परेका थिए। साथै, लेबलिङ नगरिएका हजमेला क्यान्डी, चाउमिन, भुजा, उपहारको लोभ देखाई बिक्री बढाउने उद्देश्यले झुठा विवरण राखिएका चाइनिज रोल जस्ता अखाद्य तथा गुणस्तरहीन सामग्रीसमेत जफत गरिएको छ।
टोलीले सम्बन्धित व्यवसायीलाई अखाद्य तथा म्याद गुज्रेका वस्तुको बिक्री–वितरण तत्काल रोक्न निर्देशन दिँदै पसलमा राखिएका मालसामान नियमित रूपमा जाँच गर्न कडाइका साथ सचेत गराएको छ।
अनुगमनका क्रममा जम्मा १४ वटा खाद्यान्न तथा किराना पसल निरीक्षण गरिएको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जफत गरिएका सम्पूर्ण अखाद्य सामग्रीहरू चाैकुने गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष कमल बहादुर जि.सी.को रोहवरमा नष्ट गरिएको हो।
सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई अझ प्रभावकारी र निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।



