
चितवन, भदौ २३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा रहेको जोखिमपूर्ण ढिस्को भत्काउने काम तीव्र पारिएको छ। सोमबारदेखि आंशिक रूपमा सवारीसाधन रोकेर ढिस्को हटाउन सुरु गरिएकोमा मंगलबारदेखि ‘ब्याक ह्याम्बर’ प्रयोग गरिएको छ।
डिभिजन सडक कार्यालय चितवनका अनुसार ढिस्को हटाउन मंगलबारदेखि ६ वटा ब्याक ह्याम्बर परिचालन गरिएको छ। आवश्यकताअनुसार थप उपकरण परिचालन गर्ने तयारीसमेत गरिएको छ। प्राविधिक तथा मजदुरहरू पेटीको सहायताले भिरमा झुन्डिएर जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका छन्।
गत वर्ष असोजमा ठूलो पहिरो खसेर १०४ घण्टा सडक अवरुद्ध भएपछि उक्त क्षेत्रलाई उच्च जोखिमका रूपमा लिइएको हो। नारायणगढतर्फको करिब १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइको भित्तोमा पहिरो रोकथामका लागि ढुंगा–माटो हटाएर ‘नेलिङ’ प्रविधिबाट रड तथा जाली लगाउने तयारी गरिएको छ।
पहिरो नियन्त्रणको कामका लागि १० महिनामा सम्पन्न गर्ने गरी २२ करोड २१ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा ४३ स्थान पहिरोको जोखिममा रहेकामा आठ स्थानलाई उच्च जोखिमका रूपमा पहिचान गरिएको छ।



