कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक सन्कट्टी घाटमा मृत फेला

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक सन्कट्टी घाटमा मृत फेला परेका छन । सोमबार दिउँसो कर्णाली चिसापानीको पुलबाट रमाईलो गर्दै पौडि खेल्न पालैपालो १७ जनाले हाम फालेका थिए ।

ती मध्ये १६ नम्बरमा हाम फाल्ने कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही हाम फाल्न साथ बेपत्ता भएका थिए ।

उनको तीन दिनपछि बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए । उनी घरको एक्लो छोरा थिए ।

सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको चिसापानीस्थित कर्णाली कर्णाली नदीमाथिको पुल सबैले चिनेको र यहाँ घुम्न आउने व्यक्तिले सावधान नभएकोले यस्ता अप्रिय घटना हुने गरेका छन ।