
नजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्।

बैतडीको पुर्चौडी नगरपालिकामा बिहीबार दिउँसो भएको दुखद ट्र्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको छ। पुर्चौडी नगरपालिका–१ रोतेशिला क्षेत्रमा पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ त १६०० नम्बरको ट्र्याक्टर दिउँसो करिब ३:३० बजेको समयमा सडकबाट २० देखि २५ मिटर तल खसेको हो। यस दुर्घटनामा परेर ट्र्याक्टर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको समयमा ट्र्याक्टरमा चालकबाहेक अन्य कोही पनि सवार थिएनन्। प्रहरी निरीक्षक भुवन तिमल्सिनाका अनुसार हालसम्म दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कञ्चनपुर, ३२ असार — कञ्चनपुरमा श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी नगरपालिका निवासी ४२ वर्षीया पारु सुनारको आफ्नै श्रीमान् ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट बिहीबार मृत्यु भएको हो। प्रहरीका अनुसार बुधबार भएको कुटपिटपछि घाइते पारुलाई उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो। घटनामा संलग्न रणबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको थियो। हाल रणबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीमा परी बेपत्ता भएका स्कुटर चालक मृत अवस्थामा फेला परेका छन्। गत असार २९ गते दिउँसो अविरल वर्षासँगै आएको आकस्मिक बाढीले सर्लाहीका महेशकुमार कार्कीलाई स्कुटरसहित बगाएको थियो। घटनाको दुई दिनपछि बिहीबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोजी टोलीले घटनास्थलबाट करिब दुई सय मिटर तल खोलाको बगरमा बालुवा र लेदोले पुरिएको अवस्थामा कार्कीको शव फेला पारेको हो। यसअघि मंगलबार नै बागमती प्रदेश ०२–०३२ प ८०५४ नम्बरको उनको स्कुटर क्षतविक्षत अवस्थामा फेला परेको थियो। खराब मौसम र खोलाको तीव्र बहावका बावजुद सुरक्षाकर्मीले अथक प्रयास गरी शव फेला पारेका हुन्। मृतक कार्कीका आफन्तले घटनास्थलमै शवको सनाखत गरेका छन् भने प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव अस्पताल पठाएको छ।