
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–९ स्थित सक्ला बजारबाट ४ किलोग्राम लागूऔषध (अफिम) जस्तो देखिने पदार्थसहित दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी ४० वर्षीया मनकुमारी घर्ती र वडा नं. १८ निवासी ४५ वर्षीया माया घर्ती रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार सक्ला बजार क्षेत्रमा अपरिचित व्यक्तिहरूले लागूऔषध (अफिम) को कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी सक्ला र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अाइतवार बिहान करिब ८:३० बजे सक्ला बजारमा उनीहरूको रितपूर्वक खानतलासी गर्दा ४ किलोग्राम अफिम जस्तो देखिने कालो अर्धठोस गिलो पदार्थ, नगद १० हजार ११० रुपैयाँ र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै महिलाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत जाजरकोटबाट पहिलो पटक १० दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिरकुमार खड्काले जानकारी दिएका छन्।



