
सुर्खेत, २७ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका–१३ रामघाटमा श्रीमानले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाउँदा उनी गम्भीर घाइते भएकी छन्।
सुर्खेत प्रहरीका अनुसार स्थानीय ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानामाथि साउन २६ गते साँझ करिब ५ बजे पेट्रोल छर्किएर आगो लगाएका हुन्। आगलागीपछि उनीहरूकी १८ वर्षीया छोरी पुष्पा रानाले आगो निभाएकी थिइन्।
आगोले महेश्वरीको अनुहार, घाँटीसहित शरीरका विभिन्न भाग गरी करिब ३५ देखि ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।
घाइते महेश्वरीलाई छोरी पुष्पाले साँझ ६ः१५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएकी थिइन्। अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि साँझ ६ः४० बजे नेपालगन्ज रिफर गरेको थियो। थप उपचारका लागि उनलाई भारतको लखनउ लगिएको जनाइएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



