
सुर्खेत । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सुर्खेतकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
भाद्र २७ गते बिहान लेकवेशी नगरपालिका–१० झुप्रास्थित सडकमा भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते बुढालाई उपचारका लागि नेपालगन्ज लगिएको थियो। उनको भाद्र २८ गते बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक लेकवेशी नगरपालिका–९ का १७ वर्षीय मनोज आचार्य र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।



