
सुर्खेत, साउन १२ – सुर्खेतको लेकबेशी नगरपालिकामा मंगलबार बिहान यात्रुवाहक जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ख ५४० नम्बरको मुस्ताङ जिप बिहान करिब १० बजे लेकबेशी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकन्डरा क्षेत्रमा उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको हो।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट नेटाबाट प्रहरी सहायक निरीक्षक मोहन चन्दको नेतृत्वमा ४ जना तथा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मदन शाहीको नेतृत्वमा ९ जनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।
प्रहरीका अनुसार २२ वर्षिय सुष्मा कार्की , २६ वर्षिय तिल्सरा सिरिस , ७० वर्षिय अमृता कार्की र अन्दाजी ७० वर्षिय खगिसरा बि.क. गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको छ।
यस्तै, दर्शन बि.क., जुना सुनार, उमा राना तथा चालक दिपेश पुनसहित अन्य चार जना स्थानीय मेडिकल दशरथपुरमा उपचाररत छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



