
सुर्खेत, श्रावण १४ — सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो तथा फोटो सार्वजनिक गरी धार्मिक आस्थामा नकारात्मक असर पारेको आरोपमा सुर्खेत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समीर थापा रहेका छन्। उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार थापाले सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गर्दै आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थामाथि नकारात्मक प्रभाव पार्ने तथा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले प्राप्त सूचनाका आधारमा खटिएको टोलीले श्रावण १३ गते राति करिब ८ः३० बजे थापालाई नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन्।



