
दाङको गढवा गाउँपालिका–६ थानदेउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो ४ बजेतिर बिग्रिएको पंखा मर्मत गर्ने क्रममा ५६ वर्षीय रामसेवक यादवलाई अचानक करेन्ट लागेको थियो। गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी पुर्याइए पनि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए। घटनाको पुष्टि इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीले गरेका छन्। यस क्षेत्रमा पछिल्लो केही समययता विद्युतीय दुर्घटनाको जोखिम बढेको देखिएको छ। यसअघि गत असार २२ गते मात्रै गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादवको पनि आफ्नै घरमा शौचालयको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो। केही दिनको अन्तरालमा भएका यी दुई हृदयविदारक घटनाले स्थानीयमा त्रास सिर्जना गरेको छ। विद्युत उपकरण मर्मत गर्दा आवश्यक सावधानी नअपनाउँदा यस्ता दुर्घटना भइरहेकाले थप सजगता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।



