
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका–६ सोनाहाफाँटस्थित सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको सनाखत भएको छ।
भदौ २६ गते साँझ मनाउबाट टपरा जाने सिँचाइ कुलोको पानीमा अन्दाजी ३०–३५ वर्षकी महिलाको शव फेला परेको थियो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाएको थियो।
प्रहरीका अनुसार मृतक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने ३३ वर्षीय सुबास न्यौपानेकी २७ वर्षीया श्रीमती उमा ज्ञवाली रहेको खुलेको छ। भदौ २७ गते मृतकका श्रीमानले अस्पताल पुगेर शवको सनाखत गरेका हुन्।
प्रहरी अनुसन्धानका क्रममा ज्ञवाली भदौ २५ गते साँझदेखि घरबाट हराएकी थिइन्। उनी केही समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको समेत खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



