
दैलेखको आठबीस नगरपालिकाका दुई जना युवकलाई प्रहरीले पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का भीमबहादुर शाही र वडा नं. ५ का भूपेन्द्र शाही रहेका छन्। उनीहरूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले हातहतियार लुकाएको खुलासा गरेका थिए। उनले आठबीस नगरपालिका–४ स्थित राकम खोलीबजार नजिकैको खोल्सामा स्वचालित पेस्तोल लुकाएर राखेको बयान दिएका थिए।
उक्त बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक कृष्ण चन्द्रको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले खोल्साको झाडीमा कालो प्लास्टिकभित्र पोका पारेर राखिएको अवस्थामा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको १ थान पेस्तोल फेला पारेको हो।
बरामद गरिएको पेस्तोलमा प्रयोग हुने १ थान म्यागजिन र ५ राउन्ड गोलीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



