
अल्फाबेटअन्तर्गतको गुगलले ‘गुगल अर्थ’ मा भर्खरै ल्याएको एआई फोटो जेनेरेसन फिचर हटाएको छ । प्रयोगकर्ताहरूले कम्पनीको नीतिको उल्लङ्घन हुने गरी एआईबाट निर्मित तस्वीरहरू सेयर गरेपछि सार्वजनिक गरेको एक दिनमै उक्त फिचर हटाइएको हो ।
‘न्यानो बनाना २’ एआई मोडेलमा आधारित यो फिचरले गुगल अर्थको भू-उपग्रह, हवाई र ३डी म्यापिङका आधारमा प्रयोगकर्ताको निर्देशन अनुसार जुनसुकै ठाउँको वास्तविक जस्तै देखिने फोटो बनाउन सक्थ्यो ।
तर, वास्तविक प्रसिद्ध स्थल र स्मारकहरूमा काल्पनिक वा गलत दृश्यहरू सिर्जना गर्न सकिने भएकाले यसले भ्रम वा गलत सूचना फैलाउन सक्ने भन्दै तीव्र आलोचना भएको थियो । गुगलले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘हामीले नक्सांकन क्षेत्रका विशेषज्ञहरूले यो फिचरलाई विभिन्न उपयोगी काममा प्रयोग गरेको देखेका छौँ, तर केही मानिसहरूले नीति उल्लङ्घन हुने गरी एआईबाट बनेका तस्वीरहरू सेयर गरिरहेको पनि पायौँ।’
थप कडा सुरक्षा प्रबन्ध र नियमहरू लागू नभएसम्मका लागि यो सेवा स्थगित गरिएको गुगलले जनाएको छ । कस्ता प्रकारका तस्वीरहरूले नीति उल्लङ्घन गरे भन्नेबारे गुगलले स्पष्ट पारेको छैन। तर ती तस्वीरहरू गुगल अर्थको मूल प्लेटफर्ममा नदेखिने र त्यसमा एआईबाट बनाइएको भनी चिह्न (वाटरमार्क) राखिएको कम्पनीको दाबी छ।
प्राविधिक कम्पनीहरूले आफ्ना उत्पादनहरूमा एआई प्रविधि जोड्न प्रतिस्पर्धा गरिरहे तापनि नीति उल्लङ्घन, गलत सूचना र गोपनीयताको चिन्ताका कारण आफ्ना फिचरहरूमा कडाइ वा अस्थायी रूपमा बन्द गर्नुपरेको छ।
यसै महिनाको सुरुमा मेटाले पनि इन्स्टाग्रामका सार्वजनिक अकाउन्टहरू प्रयोग गरेर फोटो बनाउने ‘म्युज इमेज’ नामक एआई फिचर बन्द गरेको थियो। हलिउड युनियनलगायत विभिन्न क्षेत्रबाट गोपनीयताको विषयलाई लिएर चर्को विरोध भएपछि मेटाले उक्त निर्णय लिएको थियो।



