करेन्ट लागेर एकै परिवारका तीनको मृत्यु, पीडित पक्ष राहतको माग

दाङमा करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु भएपछि पीडित पक्षले राहतको माग गरेका छन । परिवार र आफन्तले सडकमा उत्रिएर पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन ।
शनिबार दिउँसो ११ केभीको हाइटेन्सन लाइनको तार एकाएक चुडिएर शरीरमाथि खस्दा राप्ती गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय गोरखबहादुर केसी, उनकी ५५ वर्षीया श्रीमती दिलसरा केसी र ३ वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको थियो ।
दिलसरा र कृष्णको घटनास्थलमा मृत्यु भएको थियो । गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले घटना घट्नुको कारण विद्युत प्राधिकरणलाई दाषी बनाएका छन ।
विद्युत प्राधिकरणको लापरबाहीले तीन जनाले ज्यान गुमाएको भन्दै पीडित परिवारले आइतबार मध्यान्हदेखि सडकमा उत्रिएका हुन ।
राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरियामा आफन्त तथा स्थानीयहरूले राजमार्ग छेकेर राहत माग गरेका हुन ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार राजमार्गमा यातायात सुरू गराउन छलफल भइरहेका छन ।
‘राहत बापत राज्यबाट उपलब्ध हुने जनही पाँच लाख स्वतः उपलब्ध हुन्छ । पीडित पक्षले अतिरिक्त रकमको माग गरेको हुँदा छलफल भइरहेको हो,’ उनले भने ।
जिल्ला विपदबाट पनि अतिरिक्त आर्थिक साहयता उपलब्ध गराउनेबारे छलफल भइरहेको छ । छलफल सकारात्मक रहेको प्रहरी निरीक्षक सिंहले बताए ।
छलफलमा विद्युत प्राधिकरणका पदाधिकारी, प्रहरी अधिकारी र अन्य निकायका प्रतिनिधिहरू सहभागी छन ।
सबै निकायको सकरात्मक छलफलले पिडितका परिवारले केही राहत उपलब्ध गराउने संकेत रहेको सिंहले बताए ।