रवि लामिछानेको सहकारी कान्डको मिसिल अदालतमा

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको हो ।

१८ सय २८ जना बचतकर्ताको ६ करोड १ लाख २३ हजार ७५४ रुपैयाँ ठगीको आरोप उनीहरूमाथी छ । यसरी बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

अभियोग पत्रमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाइएको छैन । तर उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको अभियोग पत्रमा उल्लेख छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले रकम पठाएका कम्पनीहरूका सञ्चालक समितिहरूको नाम र विवरण पनि राखिएको छ । यसमा पनि रवि लामिछानेको नाम उल्लेख छ ।

गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक मध्येमा रवि लामिछानेको पनि नाम मिसिलमा खुलाइएको हो । यसरी रकम अपचलन गर्ने कम्पनीबाट रवि लामिछानेले एक लाख ८० हजार कित्ता सेयर लिएको देखिएको छ । यो शेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ । २०७ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो ।

यस्तै रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क प्राली खाता नम्बर ००१–००१–१०५–००००२२४ मा २ करोड रुपैयाँ निकासा भएको देखिएको छ ।

मिसिलमा उल्लेख गरिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी मिति २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा सेवा शुल्क बापत चार लाख रुपैयाँ कट्टी गरी संस्थाले १ करोड ९६ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।’

अनुसन्धानको मिसिलमै रविका नाममा रकम निकासा भएको उल्लेख गरिए पनि प्रहरीले लामिछानेसँग सोधपुछ कागज समेत गराएको छैन । यसअघि भेपको सुन प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराको फोन कनेक्सन देखिएको र बयानमा एक प्रतिवादीले भेप छुटाउन महराले टेलिफोन गरेको बयान दिँदा महरा पक्राउ परेका थिए ।

महरालाई पनि प्रहरीले सुरुमा प्रतिवादी बनाएको थिएन । दोस्रो पटक कागज गराएर मिसिल बुझाएको प्रहरीले तेस्रो पटक मात्रै उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

रवि लामिछानेको हकमा पनि प्रहरीले अहिले सामान्य सोधपुछ समेत गरेको छैन । रवि लामिछाने विरुद्ध पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको आरोपमा पनि जाहेरी परेको छ ।

तर प्रहरीले त्यसलाई ठाडो उजुरी भन्दै पन्छाइरहेको छ। रवि गृहमन्त्री नहुन्जेल अनुसन्धानमा चासो दिएको प्रहरी अहिले उनी गृहमन्त्री भएपछि भने त्यसलाई ढाकछोप गर्न लागिपरेको छ ।

प्रहरीले अनुसन्धान अगाडि नबढाउँदा यो विषय संसदमा समेत प्रवेश पाएको छ । सहकारी ठगीमा रवि लामिछाने जोडिएको र यस विषयमा छानबिन हुनु पर्ने माग विपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको छ ।