भरतपुरमा आज चुनावी आमसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

सत्तागठबन्धनले आज चितवनको भरतपुरमा चुनावी आमसभा गर्ने भएकाे छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभा सम्बोधन गर्न बुधबार नै चितवन आइसकेका छन् ।

उनी चितवन पुगेपछि विमानस्थलबाट होटलसम्म जान निजी सवारी साधन चढेर गएका थिए । चुनावी प्रचारका कार्यक्रममा गएकोले निजी गाडी प्रयोग गरिएको देउवाको सचिवालयले बताएको छ ।

भरतपुर महानगरमा सत्तागठबन्धनबाट मेयरमा नेकपा माओवादीकी नेता रेनु दाहाल र उपमेयरमा कांग्रेस नेता चित्रसेन अधिकारी उम्मेदवार रहेका छन् । उनीहरूलाई मत माग्न आज केन्द्रीय बस टर्मिनलमा चुनावी सभा आयोजना गरिएको हो ।

चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसापाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालालाई पनि चुनावी सभामा सम्बोधन गर्न खबर पठाइएको छ ।
यसैबीच सभापति देउवाले बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल लगायत अरुसँग पनि कुराकानी गर्ने भएका छन् ।