इजरायलस्थित दूतावासले भन्यो- नेपालीलाई कुनै असर परेको छैन

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नपरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । उक्त आक्रमण बाट नेपालीहरुलाई केही नभएको र सबै सकुशल रहेको जानकारी गराएको हो ।

सबै नेपाली सकुशल रहेको दूतावासले स्पष्ट पारेको छ । आइतबार इजरायलका विभिन्न स्थानमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । ’इरानले गरेको आक्रमणबाट यहाँ बसोवास गर्ने नेपाली नागरिकलाई कुनै असर नपरेको र सबै नेपाली सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलमा हाल चार हजार ५०० नेपाली केयरगिभरका रूपमा कार्यरत छन । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन ।
यसअघि दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन र स्थानीय प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरिसकेको छ । सुचनामा कुनै समस्या परेको खण्डमा दुतावासका द्धितिय सचिव कुमार बहादुर श्रेष्ठलाई ०५२८२८९३०० मा सम्पर्क गर्न पनि दुतावासले आग्रह गरेको छ ।
इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । गत असोजमा इजरायलमाथि लडाकु समूह हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिएका थिए । भने एक युवा अहिले सम्म वेपत्ता भएका छन ।