कुनकुन खानेकुराका कारण ग्यास्ट्रिक बढ्छ ? ग्यास्ट्रिक कम गर्न के गर्ने ?

पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलका अनुसार अहिलेको समयमा प्राय मानिसहरुले स्वास्थ्यलाई ख्यालमा नराखी जिब्रोको स्वादलाई बढी प्राथमिकतामा राखेको देखिन्छ । यो बानीले प्राय मानिसहरुलाई ग्यास्ट्रिकको समस्याबाट पीडित हुनेको संख्या बढिरहेको छ । प्रशोधित र प्याकेट बन्द खानेकुराले ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्दै गएको हामी सुन्छौं । तर के साँच्चै खराब खानपानले ग्यास्ट्रिक हुन्छ त ?
कोक, फ्यान्टा, डिउजस्ता पेय पदार्थ
कोकाकोला, फ्यान्टा, डिउ,स्प्राइटजस्ता पेय पदार्थमा हुने ग्यास र एसिडले ग्यास्ट्रिकको समस्या निम्त्याउँछ ।
चिया, कफी
चिया, कफीमा हुने क्याफिनले भोक कम लाग्ने, डकार धेरै आउने र पेटमा दुखाइको महसुस हुने गर्छ ।
चुरोट, सुर्तीजन्य पदार्थ
चुरोट तथा सुर्तीजन्य पदार्थले पनि ग्यास्ट्रिकको समस्या निम्ताउँछ । चुरोट र सुर्तीमा हुने विभिन्न रसायनले ग्यास्ट्रिकको समस्या ल्याउँछ ।
रक्सी
रक्सी खायो भने एसिड बढी निस्किन्छ, जसले गर्दा ग्यास्ट्रिक गराउँछ । रक्सीको धेरै सेवनले ग्यास्ट्रिक मात्र होइन, कलेजोको समस्या पनि निम्तिन सक्छ ।
समोसाजस्ता तारेको र चिल्लो खानेकुरा
समोसा, आलु चिप्सजस्ता तेलमा तारेको वा धेरै चिल्लो खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै बारबिक्यु पोलेको खानेकुराले पनि ग्यास्ट्रिक गराउँछ ।
बासी खानेकुरा
कुनै खानेकुरालाई धेरै दिन फ्रिजमा राखेर तताएर खाइयो भने त्यसले पनि ग्यास्ट्रिकको समस्या हुन्छ । साथै होटेलमा धेरै दिनदेखि तयार बनाएर राखिएको खानेकुरा र प्याकेट बन्द खानेकुराले पनि ग्यास्ट्रिकको समस्या हुन्छ ।
बट्टामा खाँदेको अचार
बट्टामा खाँदेको अचारमा मसाला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले पेट फुल्ने दुख्ने र आन्द्रामा घाउसमेत हुन सक्छ ।
यस्ता खानाले किन ग्यास्ट्रिक हुन्छ ?
धेरै चिल्लो, पिरो, मसालेदार खानेकुरा खाना नली हुँदै आमाशयमा जान्छ र सबैभन्दा पहिले पेट पोल्न थाल्छ र खाना पच्न नै गाह्रो हुन्छ । चुरोट, रक्सी, चिया, कफी, चुरोट र रक्सीको धेरै सेवनले आन्द्रा तथा आमाशय बिस्तारै सुन्निएर ग्यास्ट्रिकको समस्या र पेटमा घाउ नै पनि हुन सक्छ ।
ग्यास्ट्रिकबाट बच्न कस्तो खाना ?
फाइबर पाचनतन्त्रका लागि एकदमै उपयोगी हुन्छ । त्यसैले सिमी, आल्मन्ड, ओखर, तिल, स्ट्रबेरीजस्ता फाइबरयुक्त खानेकुरा ग्यास्ट्रिकबाट बच्नका लागि लाभदायक हुन्छ ।
हरियो सागपात, सबै प्रकारका तरकारी, फलफूल, माछा, बोसोरहित मासु ग्यास्ट्रिकका बिरामीका लागि महत्त्वपूणर् खाना हुन् । यी खानामा प्रशस्त मात्रामा पौष्टिक तत्त्व पाइने हुनाले पेट र आन्द्रामा भएको संक्रमणलाई समेत कम गर्छन् ।
सुविधायुक्त यो समयमा विभिन्न उल्लेखित खानेकुरा खादा कम उमेरमै ग्यास्ट्रिकका अन्य दिर्घ रोगहरु लाग्ने समस्या निकै बढेको छ । सकेसम्म घरमै स्वास्थ्य अनुसार परिकार बनाएर खानु उचित हुन्छ ।