नौगाड गाउँपालिका-२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त, ४ घर जोखिमपूर्ण

दार्चुला — नौगाड गाउँपालिका-२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त भएको छ । घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको जनाएको छ ।

प्रहरी चौकी दल्लेखका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालका अनुसार मंगलबार बिहान थलौनका कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति भएको हो ।

पहिरोका कारण धामीको परिवार विस्थापित भएको बताइएको छ । ४ जना छिमेकीको घर पनि पहिरोको जोखिममा परेको स्थानीयहरूले बताए ।

स्थानीयहरूका अनुसार घरभन्दा २ सय मिटर माथिबाट पहिरो खसेको छ । यस्तै थलौनका स्थानीय ७ परिवारको करिब २० रोपनी जमिनमा लगाइएको मकै बाली पनि पहिरोले नष्ट गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।