समाचार खण्डन गरिएको सम्बन्धमा

लाईका मल्टी प्रपोज प्रा.लि. द्वारा संचालित लाईका खबर डट कमको आधिकारिक फेसबुक पेज “Laika Khabar” मा बैशाख १० गते “भेरीगंगा नगरपालिका, सुर्खेतमा संचालित भेरीगंगा बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताले तिर्नुपर्ने १ लाख ७० हजार रकम भाका नाघेको भन्दै लाखौंको फेन्सी पसल हडप्नुका साथै” भन्ने शीर्षकमा समाचार प्रकाशित गरिएको थियो। सो सम्बन्धमा भेरीगंगा बहुउद्देश्यीय सहकारी संस्थाबाट समाचार खन्डन गरिएको पत्र प्राप्त भएको छ।

खन्डनमा लेखिएका बुँदाहरू यस प्रकार छन्:

  1. भेरीगंगा बहुउद्देश्यीय सहकारी संस्थाले आवद्ध नागरिकको करोडौं पैसा हडपेको र लुटपाट गरेको आरोप गलत भएको।
  2. दर्जनौं कर्मचारी र संचालक समितिहरू लुटेरा शैलीमा फेन्सी पसलमा नगएको।
  3. रु ३,००,००० (तीन लाख) लगानी भएको तर एक लाख सत्तरी हजार भन्ने कुरा गलत भएको।
  4. पसलवालालाई लखेटेर पसल कब्जा गरी ताला लगाएको भन्ने भनाई गलत भएको।
  5. सहकारीले ऋण लगानीका काजग पत्र कब्जा गरी लगेको भन्ने भनाई गलत भएको।
  6. सहकारीबाट दर्जनौं मान्छे आएर लाखौंको सामान लुटेको भन्ने कुरा गलत भएको।
  7. सहकारीले सर्वस्व हरण गरेको भनाई झुठा भएको।
  8. सहकारी अफिसमा मिडियाको आधिकारिक परिचय पत्र नदेखाएको।
  9. सहकारी अफिसमा मास्क खोल्न अनुरोध गर्दा मास्क नखोलेको।
  10. अन्र्तवार्ता दिनु भएन भने तपाईहरुको सहकारी ध्वस्त हुन्छ भनेर धम्कि दिएको।
  11. सहकारीको कुरा सुन्न अस्वीकार गरेको र भिडियो लिन नमानेको।

उपरोक्त बुँदाहरूको सन्दर्भमा, बैशाख ९ गते सावित्रा तिवारीले सहकारीले ज्यादती गर्यो र बस्ने कोठामा समेत ताला लगाईदियो भन्ने खबर दिएपछि हामी सत्य तथ्य बुझ्न छिन्चु बजारमै पुगेका थियौं। घटनाको वास्तविकता बुझ्न पसल वरीपरीका स्थानीयहरूसँग, प्रहरीसँग, पीडितसँग, सम्बन्धित वडा कार्यालयसँग र सहकारी संस्थासँग प्रतिक्रिया लिएका थियौं। संचालक समितिको बैठक चलिरहेका बेला हामीले अनुमति लिएपछि सबै संचालक समितिका बिचमा बसेर प्रतिक्रिया दिन अनुरोध गर्यौं। “तपाईहरुको प्रतिक्रिया भएन भने समाचार एकपक्षीय जस्तो बन्न सक्छ” भनेर सचेत गरायौं।

अन्य पत्रकारको रोहबरमा सहमती भएर ताला खुलिसकेको समाचार बनेको थियो। त्यसै अनुसार समाचार बनाईदिन उहाँहरुको अनुरोध हामीले अस्वीकार गर्यौं। सत्य के हो खुलाईदिन बारम्बार अनुरोध गर्यौं। हामी त्यहाँ गएर आधा घन्टा सम्म अनुरोध गर्दा पनि प्रतिक्रिया दिन नमानेको कुरा सहकारीकै खन्डन बुँदाहरू ८, ९, १०, र ११ ले पुष्टि गर्छ।

हामीले समाचार संकलनका क्रममा प्राप्त भएका प्रतिक्रिया जस्ताको तस्तै राखिदिएको कुरा अनुरोध गर्न चाहन्छौं। हामी यो घटनासँग सम्बन्धित वास्तविकता उजागर गर्न र जनताका सामु वास्तविक घटनालाई प्रस्ट पार्न भेरीगंगा बहुउद्देश्यीय सहकारी संस्था तयार भएको खन्डमा पुनः रिपोर्ट तयार गर्न इच्छुक छौं।