क्याप्टेन रामेश्वर थापाको सवारी दुर्घटना गुपचुप लुकाउने प्रयास

सोमबार बिहान ६ बजेर ४५ मिनेटमा चक्रपथको भाटभटेनी नजिकै भएको सवारी दुर्घटना लुकाउने प्रयास गरेको छ । प्रहरी वृत्त महाराजगञ्ज र ट्राफिक प्रहरीले हाइप्रोफाइल व्यक्ति संलग्न रहेको भन्दै घटनालाई लुकाउने प्रयास गरेको पाएको छ ।

सोमबार बिहान क्याप्टेन रामेश्वर थापा सवार गरेको गाडीको ठक्करबाट तीन जना घाइते भएका थिए । राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३-०१-०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३-०२-००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई व्यक्ति र पैदलयात्री एक बालकसहित कुल तीनजना घाइते भएका थिए ।

घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुङ्गाका सुदीप खतिवडा हुन् । उनीहरूको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार हुँदैइ छ । काठमाडौँकै जरङ्खुका बालक रुक्सल थापाको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

क्याप्टेन रामेश्वर थापा आफैँले चलाएको कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना तथा पैदल यात्रामा रहेका एक बालकसहित घाइते भएको घटनालाई प्रहरी प्रशासन र ट्राफिक प्रहरीले यो घटना सकेसम्म लुकाउने प्रयास गरीएको थियो ।

सोमबार बिहानै भएको सवारी दुर्घटनाको रिपोर्टिङ सोमबार अपराह्न सवा १ बजेसम्म पनि ट्राफिक प्रहरी कन्ट्रोलमा खबर गरिएको थिएन । सोमबार अपराह्न १ बजेर १५ मिनेटमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी मीरा चौधरीलाई सम्पर्क गरी दुर्घटनाको सम्बन्धमा जानकारी माग्दा दुर्घटनाबारे कुनै जानकारी नभएको उनले बताएकी छिन् ।

सम्पर्क गरेलगत्तै डिआईजी चौधरीले रेडियो सेटबाटै दुर्घटनाको सम्बन्धमा जानकारी मागेकी थिइन् । डिआईजी आफैँले दुर्घटनाबारे सोधखोज गरेपछि मात्रै ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जले दुर्घटना भएको र कारचालक क्याप्टेन रामेश्वर थापा रहेकोबारे महाशाखालाई रिपोर्टिङ गरेको थियो ।

महाराजगञ्जमा दुर्घटना भएको र कार चालकलाई प्रहरीले भ्यानमै राखी लगेको प्रत्यक्षदर्शीले सूचना दिएको भएपनि सोमबार अपराह्न १ः१२ बजे र १ः२६ बजे घटनाबारे जानकारी माग्दा प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले घटनाको सम्बन्धमा कुनै जानकारी नभएको बताएका थिए । उनले भने, ‘मलाई घटनाबारे कुनै जानकारी छैन । दुर्घटना सामान्यतया ट्राफिक प्रहरीले हेर्ने भएको कारण ट्राफिकसँग सम्बन्धित विषय होला, हाम्रो यहाँ घटनाबारे कुनै जानकारी छैन ।’

यस विषयमा पटकपटक जानकारी लिँदा पनि महाराजगञ्जका डिएसपीले जानकारी नभएको बताइरहेका थिए । यद्यपि सोमबार साँझ प्रहरीको आन्तरिक रिपोर्टिङमा भने सोमबार बिहान भएको दुर्घटनाको सम्बन्धमा विवरण राख्दै कारचालक रामेश्वर थापा प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । हाइप्रोफाइल व्यवसायी संलग्न भएकै कारण सोमबार बिहान पौने ७ बजे भएको दुर्घटनाको जानकारी प्रहरी सञ्चारमा साँझ ६ बजे मात्रै गराइएको थियो ।

बिहानको समयमा तीव्र गतिमा चलाइएको कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए भने दुर्घटनापछि अनियन्त्रित बनेको कारले सडक पेटीमा हिँडिरहेकामध्ये तीन वर्षीय बालक रुक्सल थापासमेत घाइते बनेका थिए । रातोपाटिमा समाचार छ ।