आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि सम्पर्क विहीन

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्क विहीन भएको छ । आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको र त्यस पछि सम्पर्क विहीन रहेको छ ।

क्याप्टेन प्रभाकर घिमिरेले जहाज उडाएका थिए । तेस्रो मुलुकका २ जना, ४ भारतीय र १३ नेपाली यात्रु गरी जम्मा १९जना यात्रु रहेका थिए ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए । ‘समिटको जहाज ल्यान्ड भयो । पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले बताए,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन् ।’ समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो । जोमसोम जाने जहाज लेतेको आकाश माथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन् ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडेको थियो । युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो भने नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ । फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज घाँसासिखा क्षेत्रबाट हराएको देखिन्छ ।

अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराएकोे आशंका गरेका छन् । लेते थासाङ गाउँपालिकामा पर्छ । थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने जनाएका छन् ।

‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ । अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ प्रदीप गौचनले बताए ।

जहाजको खोजीका लागि नेपाली सेना र अरू निजी कम्पनीका हेलिकप्टर परिचालन गरिएको छ । बादल लागेको र सिमसिम पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको छ । जहाजको खोजीका लागि नेपाली सेनाहरु पैदल टोली पनि पठाएको छ ।


काठमाडौं स्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।