कुटपिट गरेर गर्भपतन गराउनेलाई साढे एक वर्ष कैद सजाय

file photo

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई बिहीबार कैद सजाय गरीएकाे छ ।

महादेवा गाउँपालिका-४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको हाे ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले अभियुक्त बरैलाई कैद सजायको फैसला सुनाएको छ । अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन् ।

बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा मुद्दा दायर गरेका थिय ।

आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखिएपछि रोक्न खोज्दा लातमुक्काले कुटपिट गरी घाइते बनाएको पीडितको आरोप रहेकाे छ ।

सोही क्रममा पेट दुखेर २०७७ फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकोमा फागुन १२ गते पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको पीडितको आरोप थियो । प्रहरीले २०७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितमध्ये लक्ष्मण, श्याम र रामजीलाई पक्राउ गर्‍यो ।

जिल्ला अदालतमा २०७७ फागुन २३ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले आरोपित लक्ष्मण, श्याम र रामजी जनही रु ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए ।

जिल्ला अदालतमा २०७७ चैत १० गते हाजिर भएका सुरेन्द्रसमेत सोही दिन रु ३० हजारमा धरौटी राखी पूर्पक्षका लागि रिहा भएका थिए ।